यतिराज अजनबी
एड्लेड
तिम्रो नाम ध्वजाहरूमा नफरफराउला,
कुनै स्मारक नबन्ला
तिम्ले माटोलाई
अन्तिम पटक ढोगेको ठाउँमा,
तिम्ले वीरगति प्राप्त गरेको स्थलमा
नबन्ला पाटी,
नहोला कुनै धर्मशाला
तिम्ले आमालाई
आखिरी सम्बोधन गरेको स्थानमा |
ध्वजा, स्मारक, पाटी, धर्मशालाहरू त
सधैं एउटै स्थानमा रहने
पुराना कुरा भैसके |
पुस माघको बिहानी ठण्डीमा
मधेशका चौरास्ता,
दोबाटो र गल्लीहरूमा
भटाभट बिक्री हुने
तातो ‘भक्का’ जस्तो
सूचना चल्ने
सूचना प्रविधिको युगमा
कुनै राज्यको निश्चित घेराभित्र
सीमित हुन सक्दैन
भूमण्डलीकरण रुचाउने
विश्वप्रेम तथा विश्वग्रामको
नारा अभिव्यक्त गर्ने
अबको जागरूक मान्छे |
तिम्रोलागि नितान्त नूतन,
फरक र विशेष स्तम्भ बन्दैछ अब
विश्व इतिहासमै नबनिएको
ऐतिहासिक स्तम्भ:
मन, मान्छेको धड्कन
जो गतिशील रहन्छ |
मनमा पस्ने, बस्ने र अटाउने
कौशल भएकोलाई
किन चाहियो सुनका अक्षरहरू?
कंगारूको देशमा छन्
तिम्रा सालिकहरू,
उत्तर अमेरिकादेखि युरोपसम्म
फैलिएकाछन् तिम्रा प्रशंसकहरू,
तिम्रो बलिदानको तरङ्ग
सुनकोशदेखि कन्काई
कन्काईदेखि मुर्रे अनि
मिसौरी, मेकेंजी, भोल्गा हुँदै
महासागरहरूमा विस्तारित भैरहेछ आज |
