म बाँचेको संसार

मलाई थाहा छ हिजो राती आकाशमा झलमल्ल जुन लागी रहेको थियो ताराहरूले मलाई चियाएर तँछाड मछाड गर्दै मन्द मन्द मुस्कान छोड्दै हाँसी रहेका थिए आकाश निलो थियो घामको सुनौला किरणले हिमाल मुस्कुराईं रहेका थिए वसन्तको आगमनले पलाएका ती हरिया पलुवाहरू त्यो शीतल पवन संगै नाँची रहेका थिए बगैचामा ती चिरविरे चराहरूको सुमधुर संगीत गुन्जायमान थियो...

हरि उप्रेती Reynoldsburg Ohio USA

मलाई थाहा छ
हिजो राती आकाशमा
झलमल्ल जुन लागी रहेको थियो
ताराहरूले मलाई चियाएर
तँछाड मछाड गर्दै
मन्द मन्द मुस्कान छोड्दै
हाँसी रहेका थिए
आकाश निलो थियो
घामको सुनौला किरणले
हिमाल मुस्कुराईं रहेका थिए
वसन्तको आगमनले पलाएका
ती हरिया पलुवाहरू
त्यो शीतल पवन संगै नाँची रहेका थिए
बगैचामा ती चिरविरे चराहरूको
सुमधुर संगीत गुन्जायमान थियो
उता भमराहरू चम्पा, बेली अनि
गुलाबको प्राकृतिक बास्नामा
प्रेमिल नाँच रची रहेका थिए
यता असारे महिनाको
रिमझिम रिमझिम पानी संगै
किसानहरू असारे बेठी
अनि मालशिरी धुनमा
छमछमी नाँची रहेका हुन्थ्ये
शिशिर संगै रंगिएका ती पातहरू
रमझम दशै अनि तिहार संगै
झुलाएका धानका बालाहरू
धर्ती छोडेर
आकाशमा मच्चिएको
त्यो लिंगेपिंग
सुनखरी बनमा
ती न्याउलीका सुरिलो भाकाले
म बाचेको गाउँ रंगीन हुन्थ्यो
ती महान चाडहरूमा
पारिलो घामले दिएको
त्यो मन्द मन्द मुस्कानले
म बाचेको गाउँ
साच्चीकै स्वर्ग जस्तो लाग्थ्यो
आफन्त अनि भाईचाराले
मौलाएको त्यो बस्ती
साँच्चीनै मेरो घर जस्तो लाग्थ्यो
तर, तर
आजकल रातहरू
सधै सधै औंसीको रात झै भएका छन
दिनहरू बादलले ढाकिएका छन
आकाश धमिलो भएको छ
वसन्तमा पलाएका
ती हरिया पालुवाहरूमा
प्राणघातक किटाणुहरूले
आफ्नो सहर अनि बस्ती बनाईरहेका छन
आज असारे झरी होईन
खडेरीले गाउँ सहर उजाडिएको छ
ती असारे लोक भाका
अनि मालशिरी धुनमा घुन लागेको छ
दशै तिहार दसा भएको छ
बृद्ध बा आमा घरबाट फालिएका छन
पराई आफन्त भएका छन
अनि आफन्त टाडिएका छन
भाईचारा र सद्भाव हराएको छ
देख्ने आँखाहरू पापी भएका छन
बुझ्ने मन बेईमानी छ
ती पापी आँखा अनि बेईमानी मनमा
राष्ट्र र देश प्रेमीहरू
आतंककारी भएका छन
मानव सेवीहरू राक्षस कहलिएका छन
असाहय र टुराहरूको सेवा गर्ने
त्यो बेईमानी मनमा
लुटेरा भएर चिनिएको छ
ती पापी आँखामा
बृद्ध बृद्धाको सेवा गर्नेहरू
आज अपराधी ठहरिएका छन
जातीय र रंग भेदले
मेरो गाउँमा डडेल्लो लागेको छ
सारा बस्ती उठाउन
यता महामारीले आक्रमण गरिरहेको छ
बगैचाहरू उजाडिएका छन
गुलाब, मखमली, सुनखरी
बेली, चम्पा अनि चमेलीहरू
ओईलाएका छन
प्राकृतिक बास्नाहरू
आज दुरगन्धित भएका छन
आजकल यस्तै यस्तै छ
म बाँचेको संसार

Leave a Reply