प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति ठेगाना: स्लोटरमेरलान १७३-२ १०६३ जेटी आर्म्स्टर्डम मिति: २५/०६/२०११ विभिन्न पश्चिमी मुलुकहरुमा पुनर्बासित तथा शिविरमा रहेका भूटानी शरणार्थीहरुले भूटानमा मानवअधिकार तथा प्रजातन्त्र प्राप्तिको संघर्षमा जीवन आहुती गर्ने योद्धाहरुको स्मरणमा पुण्य फाउन्डेसन नामक परोपकारी संस्थाको स्थापना गरेका छन् | “शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजी” भन्ने नाराका साथ संचालित यो संस्था अष्ट्रेलियामा दर्ता गरिएको छ |...

प्रेस विज्ञप्ति

ठेगाना: स्लोटरमेरलान १७३-२
१०६३ जेटी आर्म्स्टर्डम
मिति: २५/०६/२०११

विभिन्न पश्चिमी मुलुकहरुमा पुनर्बासित तथा शिविरमा रहेका भूटानी शरणार्थीहरुले भूटानमा मानवअधिकार तथा प्रजातन्त्र प्राप्तिको संघर्षमा जीवन आहुती गर्ने योद्धाहरुको स्मरणमा पुण्य फाउन्डेसन नामक परोपकारी संस्थाको स्थापना गरेका छन् | “शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजी” भन्ने नाराका साथ संचालित यो संस्था अष्ट्रेलियामा दर्ता गरिएको छ | यसको प्रमुख ध्येय शहीद र राजनैतिक बन्दीका सन्तानहरु तथा संसारभरका असहाय बालबच्चाहरुलाई सहयोग गर्नु हो | शहीदपत्नी तथा असहाय बालबच्चाहरुलाई सहयोग गर्नुका अलावा यस फाउन्डेसनले भूटानी संस्कृतिको संवर्धनका लागि पहलसमेत गर्दछ |

फाउन्डेसनले पीडित तथा असहाय बालबच्चाहरुको शिक्षा प्राप्तिमा सहयोग गर्न छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो | यस वर्षको यो छात्रवृत्ति ४ जना भूटानी शरणार्थी तथा झापा र मोरंगका शरणार्थी प्रभावित स्थानीय क्षेत्रका २ जना बालबच्चाहरुलाई प्रदान गरिनेछ | नेपाली विद्यार्थीमध्ये १०+२ कालागि दिइने एउटा छात्रवृत्ति भने एक जना अपांग विद्यार्थीका लागि सुरक्षित रहनेछ | शैक्षिक सत्र २०११/२०१२ र २०१२/२०१३ कालागि उक्त अपांग बालबच्चाहरुलाई प्रदान गरिनेछ छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त भूटानी दृष्टिहीन शिक्षार्थी श्री इन्द्र रिजालले प्रयोजन गर्नु भएकोछ |

शैक्षिक उपलब्धिको आधारमा नवीकृत हुने उक्त छात्रवृत्ति २०० अमेरिकी डलर बराबरको हुनेछ | छात्रवृत्ति फाउण्डेशनका शुभचिन्तकहरुको अनुदान सहयोगको परिणति हो |

फाउण्डेशनले असहाय, विधवा तथा पीडितलाई लक्षित गरी सशक्तिकरण कार्यक्रमकरु आयोजना गर्नेछ | यसले २०१० मा भूटानी शहीदहरुको आत्माको मोक्षको लागि क्रमशः एटलान्टा (अमेरिका), नेपाल र वासिंगटन (अमेरिका) मा हिन्दू, बौद्ध र क्रिश्चियन धार्मिक आस्थामा आधारित कार्यक्रमहरु गरिसकेकोछ |

पुण्य फाउन्डेसन गरीव, असहाय तथा निराश्रितहरुलाई सहयोग गर्न सुरु गरिएको एउटा पहल हो | धेरै वर्षसम्म कष्टमय जीवन बिताएका भूटानी शरणार्थीहरु शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजी गर्न आज आफैं विद्यार्थी तथा पीडितहरुलाई सहयोग गर्न कटिवद्ध भएका छन् | आउँदो वर्षदेखि फाउन्डेसनले आफ्ना कार्यक्रमहरु अरु देशहरुमासमेत विस्तार गर्ने लक्ष्य राखेको छ |

फाउन्डेसन मानवअधिकार रक्षामा संलग्न सबैलाई असहाय तथा पीडित बालबच्चाहरुको शिक्षामा सहयोग गरी उनीहरुको सशक्तिकरण र न्यायको खोजीमा सामेल हुन अनुरोध गर्दछ |

टेकवीर क्षत्री
सभापति
पुण्य फाउन्डेसन