रमेश गौतम
नर्वे
नानी
तिमीलाई निश्चय थाहा छ
तिमी बाँचेको युग
तिमी हाँसेको परिवेश
तिमी उभिएको धरातल !
तिम्रा बाबा र बाबाहरु बाँचेको समय
आकाश अँध्यारो थियो
सुनकोश धमिलो थियो
र वातावरण उकुसमुकुस थियो |
र उस्तै छ अहिलेसम्म पनि !
तिमीहरुले
दिउँसै सूर्य अपहरण गरिएको
कालो दिनको अनुभव नगर भनेर
तिमीहरुले
दिनानुदिनको दमन र बिभेदको
महामारीले ग्रसित हुन नपरोस् भनेर
तिमीहरुले
स्वर दबाएर बोल्न नपरोस् भनेर
तिम्रा बाबा र बाबाहरुले
सपना संगालेका थिए |
धेरै युद्धहरु लडिए चाम्लिमिथाङमा
धेरै उगेन वाङ्चुकहरु राजा भए समरमा
र धेरै महासुर क्षत्रीहरु जिउँदै डुबाइए समुद्रमा !
र कायमै रहयो त्यो अन्धकार |
हो नि नानी
सूर्य ग्रहणले निलेका
भयग्रस्त दिनको निश्पट्टताभित्र
तिम्रो घरको दियोसमेत निभेथ्यो
तिम्रो आस्थाको केन्द्र ढलेथ्यो |
तर त्यो एउटा निस्पृहता थियो
त्यो दियो निभाइको अन्धकारसंगै
प…..र क्षितिजमा कतै
प्रकाशको संकेत फैलेथ्यो,
त्यो केन्द्र ढलाइको दारुणतासंगै
अपरिभाषित भविष्यको कालखण्डभित्र कतै
नवीन उत्साहले जरा गाडेथ्यो |
आज
खण्ड-खण्ड बाँचेका छन्
तिम्रो बाबा र बाबाहरुका सपना !
सुन्कोशका प्रत्येक सुसेलीहरुमा
तिनका आवाज घन्किरहेछन् आज
जुह्मोलरी तिनकै शीरहरु बोकेर
खडा उभिएको छ आज
साइप्रेसको टुप्पामा बसेर
ब्ल्याक रेभन तिनलाई सम्झेर
मौन धारण गरिरहेछ आज
अनि माथि आकाशमा
तिनकै पक्षमा गर्जन गर्दै
अटल बसिरहेछ ड्रागन आज |
भनिदेऊ है नानी
तिम्रा दादा र दादाहरूलाई पनि-
इतिहास त
बलियाहरू कै लेखिएको छ जहिल्यै
तर बाचिरहने छन् तिनीहरु
युगौं-युग / जन्म-जन्मान्तर !