मलाई अचम्म लाग्छ अहिलेसम्म पनि म गरीब हुनुमा ! याद छ मलाई म जन्मिँदा मेरा बा आमा गरीबहरुमध्येका गरीब थिए ! र आज म जीवनको उत्तरार्धमा क्षितिजलाई पहेंलपुर पारी अस्ताउन लागेको घाम झैं म तेल सकिएर धिप-धिप गर्दै निभ्न लागेको दियो झैं म आज घरले जा जा भन्दै शम्शानघाटले बोलाई रहेको बेला म गरीब छु। जतिबेला ममा जोश, जाँगर, र योवन थियो शरीरका अंग अंगमा उर्जा सल्बलाई रहन्थ्यो, सिंगै हिमाललाई काँधमा बोकेर हिँड्ने आँट थियो; समुन्द्रको पिँधमा पुगी मोती टिपी ल्याउन सक्ने साहस थियो; एकैचोटि कराउँदा पनि संसारभरले सुन्ने आवाज थियो- स्वर्गमा आफ्नै घर बनाउन सक्ने सपना पनि थियो। तर म! जहिले पनि शिथिल भएर गल्लीको लुते कुकुर झैं रक्सी, गाँजा, र चरेसले लठ्ठ भएर फोहोरको डंगुरमा कैयौं रात बिताएँ- कहिले चोरी- डकैती गर्दा गर्दै लखतरान हुने गरी पिटाइ खाँदै सडकको पेटीमा रगताम्य भई पल्टिरहें म ! समयको बाली लगाउने बेलामा गाउँका कुण्डले-मुण्डले साथ लिएर 'ग्याङ-फाइट'मा व्यस्त हुन्थें म सबैको सपनाको बारीभरि अन्नका बाला लह-लह हुँदा आफ्नो चै रणमैदान बनाई दिन्थें म ! अरु त के आफ्नै घरमा- आफ्नै परिवारमा पनि झगडाको धूनी बाली दिन्थें म, अरुलाई कमाई खुवाउनु भन्दा बरु आफैं भोक्कै बसिदिन्थें म- म! हृदयमा घाम उदाएको चाल नपाउने म बुद्धिको बिर्को उघ्रेको थहाँ नपाउने म जीवनको सपना देख्दै छु भनी विचार पनि नगर्ने म हुन त, तातेको फलाम पिड्दा मात्र त्यसले चाहेको आकार दिन्छ पानीको बेगलाई समेटी टर्वीनको पंखामा हाल्न सक्दामात्र त्यसले उर्जा उत्पादन गर्छ ! नत्र त प्लास्टिक जस्तै आकाशमा उड्दा पनि विष निकाल्छ- धर्तीमा बस्दा पनि विष निकाल्छ । त्यसैले जन्मदा नै गरीब हुनु केहि होइन; तर मर्ने बेलामा पनि म जस्तै गरीब हुनु संसारकै भार बन्नु बराबर हो !