
नारायण भट्टराई एडीलेड, अस्ट्रेलिया
नाना वर्ण अनेक रङ्ग गुणमा देखिन्छ तिम्रो रुप सम्पत्ती धन द्रव्य अर्थ रुपयाँ पर्यायले ब्यापक ।। जोगी सन्त गरीब साधु बिधवा राजा मगन्ते सबै सम्पत्ति प्रति ज्यान दिन्छ जनले राख्दैन बाकी कसै ।।१।। पूजामा घरमा र मन्दिर कुटी दर्वारका पेटिमा पोल्टामा र कमेज कन्तुर अझै अस्कोटका खल्तिमा ।। तिम्रो बास सुवास छर्छ तकिया न्योनो बनाईकन लक्ष्मीको रुपमा सझाई जनले गर्छन पुजा दिन्दिन ।।२।। लाखौं छन् कलिला युवा र युवती त्यो दूरको देशमा धन्कै निम्ति प्रगाढ मातृजनको बिर्सेर न्यानोपना ।। हाहाकार मचाउँछौ धन तिमी देखाइ आडम्बर पूजापाठ र वेद भागवतमा गर्छौ कतै आदर ।।३।। भोको द्रब्य बिहीनको झुपडिमा पर्दैन दृष्टि कसै ब्यापारी र अमीरका महलमा मुस्कान छर्छौ सधैं ।। जूवातास तमास खेल बिचमा सर्छौ तिमी नै अघि आफ्नो ईष्ट र मित्र बन्धु बिचमा जुट्ने र फुट्ने तिमी ।।४।। तिम्रै निम्ति सुरा र सुन्दरि यता गर्छन् तमासा उसै कैले बज्र प्रहार हुन्छ शिरमा काटिन्छ गर्धन यसै ।। बेचिन्छन् अवला अनाथ युवती सम्पत्तिका खातिर ब्यर्थै सुन्दर कोपिला प्रकृतिको निस्तेजभै झर्दछ ।।५।। शिक्षा यज्ञ र दानधर्म तपका सत्कर्ममा मन् दिने पैसै हो करुणा बिहीन मनले खैंचेर प्राणै लिने ।। तिम्रा उच्च अधम् दुवै गुणहरु संसारमा ब्यापक यस्तो बैभव शक्तिपुञ्ज धनले कैले अघाइन्छर ।।६।। सम्पत्ती प्रति हाइहाइ सबको सम्मान सत्कारले कोही हुन्न गरीबको झुपडिमा चित्कार सुन्ने भरे ।। यस्तो निश्चय नाशवान धनको देखाइ आडम्बर जस्ले गर्छ घमण्ड जीवनमहाँ फस्ला बिपत्ती तिर ।।७।।