देशभक्ति त मर्दैन चुत्थै देश भएपनि पतिभक्ति त मर्दैन पापी पति भएपनि ! –कवि शिरोमणी वालकृष्णसम॥
जब स्वच्छ दिमागले कविता लेख्न थाल्छु
अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु
फेरि शब्दको खोजिमा लामो स्वास तान्छु
त्यत्तिखेरै ………!
त्यत्तिखेरै मरो कलम अचानक
बिस्फोटन भई पड्कन पुग्छ!
पोखिएको मसीमा ह्वास्स बारुज गनाउँछ!
प्रत्येक शब्द टुक्रा–टुक्रा भइदिन्छन्
त्यसैले मेरो कविता लंगडो बन्न पुग्छ
अनि काहाँ बाँच्छ मेरो कविता?
जसो तसो लंगडो कवितालाई मलम पट्टी गर्छु
अनि कविता ब्युँताउँन खोज्छु
पड्किएका कलमका चोइटा जम्मा गर्दै
एउटा सिंगो कलम बनाउँन खोज्छु
तेसैबेला………..!
तेसैबेला आकाशवाणी झैँ एउटा आवाज आउँछ!
धनसिरी र जलढक्कामा नेपाली रगत बग्दैछ!
हिमाल–तराई बीचमा नेपाली लाशहरू कुहुँदैछन!
सारा चेलीहरू बलत्कृत भएका छन!
आमाको सिउँदो पुछिएको छ!
त्यो आवाजले आफैँ मुर्छित छु!
अनि काहाँ बाँच्छ मेरो कविता?
मुर्छबाट ब्युँझिएर सजल नेत्रले यताउती हेर्छु
अनि शीर झुकाई अतीत तिर फर्कन्छु!
फेरि मानस नदीको एक अञ्जुलीपानी उठाई
वीरगति प्राप्त गरेका आफन्तको स्मरण गर्छु!
अनि हराएका, छरिएका र पोखिएका
शब्द,भाव,शैली र विषयवस्तु जम्मा गर्न थाल्छु!
तत्काल…………!
तत्काल भयावह प्रतिविम्ब साँमु आइदिन्छ
तिनै वीर शहीदहरूको अमर गाथा!
अस्तित्व लुटिएकी आमाको कारुणिक आवाज!
बलत्कृत चेलीहरूको ह्रदय विदारक चिच्याहट
अनि काहाँ बाँच्छ मेरो कविता?
पिडाले छटपटिदै मुर्छा परे पनि
उनै जगत् जननी माताका चरणमा प्रणाँम गर्दै
श्रद्धाले दीलका अनेक फूल गुच्छाहरू चडाई
रुँदै–रुँदै ममतामई आमाको प्रार्थना गर्छु–
“आमा तिम्रा वीर सपूतहरूलाई
बैरी साँमु लड्ने अमर शक्ति देऊ
सदैव तिम्रा शीरमाथि
स्वतन्त्रताको झण्डा फहराउँन सकौँ“
भन्दा भन्दै…………….!
भन्दा भन्दै मेरा साँमु आमाको रुवाई थपिन्छ!
विकराल ज्वालामुखी बिष्फोटन हुन्छ!
क्रन्तिको बिगुल बज्न थाल्छ!
प्रत्येक शब्दहरू पड्कन थाल्छन!
अनि काहाँ बाँच्छ मेरो कविता?
अनि काहाँ बाँच्छ मेरो कविता?
१७ डिसेम्बर १९९३
के० सी० ‘सान्दाइ‘, वेलडागी झापा॥